काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘मदन भण्डारी स्मृति दिवस’ को अवसर पारेर सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारीमा रहेकी छिन्। भोलि (शनिबार) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘मदन भण्डारी स्मृति दिवस’ को अवसरमा उनी सक्रिय राजनीतिमा फर्किने घोषणा गर्न लागेको बताइएको छ।
एमाले नेतृत्वमा फर्किने चाहना र ओलीको प्रतिक्रिया
भण्डारीले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेको स्रोतले बताएको छ। राष्ट्रपतिको पदबाट हटेसँगै एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चामा रहेकी भण्डारीले पार्टी नेतृत्वमै पुग्ने चाहना राखेकी छिन्। पछिल्लो पटक असार ५ गते ओली र भण्डारीबीच भएको भेटमा भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्।
ओलीको जवाफ स्पष्ट रूपमा सार्वजनिक नभए पनि उनले ‘आफू जवान नै रहेको भन्दै अझै २० वर्ष नेतृत्वमा रहने सक्ने’ लगायतका अभिव्यक्ति दिँदै आएका छन्। ओलीले पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिएपछि ‘फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न’ नेता–कार्यकर्तालाई चेतावनी समेत दिएका थिए। उनले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि आग्रह गरेका थिए।
पार्टीभित्र र चीन भ्रमणमा सक्रियता
एमालेका पदाधिकारीहरूले पनि भण्डारीलाई पार्टीमा ल्याउन चाहिरहेको बुझिएको छ। चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेश पुगेकी भण्डारीले एमाले नेता–कार्यकर्ताहरूसँग भेट गरेकी थिइन्। उनले चीनमा एमाले नेताको हैसियतमै आफ्ना धारणा राखेकी थिइन् र चिनियाँ नेताहरूसँग मदन भण्डारीको जनताको बहुदलीय जनवादबारे छलफल समेत गरेकी थिइन्।
भण्डारी पूर्वी नेपालका जिल्ला पुगेर नेता–कार्यकर्तासँग भेट गरिरहेका बेला काठमाडौंमा ओलीले तीव्र असन्तुष्टि पोखेका थिए। यस घटनाक्रमले एमालेभित्र नेतृत्वको विषयमा आन्तरिक बहस र प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ।