वीरगन्ज । वीरगन्जमा आज ऐतिहासिक तेस्रो गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। बिहान ८ बजे गहवामाई मन्दिर परिसरबाट सुरु भएको यो यात्रा माईस्थान चौक, घण्टाघर, रेल्वे रोड, नगवा, छपकैया, बिर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर परिसरमै फर्किएको थियो।
यात्रा व्यवस्थापन मूल समितिका संयोजक देवानन्द कलवारका अनुसार, रथ यात्रामा अनुमानित संख्याभन्दा बढी भक्तजनको सहभागिता रहेको थियो र यात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
कडा सुरक्षा व्यवस्था र जनसहभागिता
रथ यात्रालाई मध्यनजर गर्दै वीरगन्जमा उच्च सुरक्षा व्यवस्था मिलाइएको थियो। जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रूपमा परिचालन गरेको थियो, जसले रथको स्कर्टिङ्ग समेत गरेका थिए। स्थानीय प्रशासनले सम्भावित कुनै पनि अनुशासित गतिविधि नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्था मिलाएको थियो। सुरक्षाका लागि पोशाक र सादा पोशाकमा प्रहरी खटाइएको थियो भने सशस्त्र प्रहरी बललाई समेत संवेदनशील स्थानहरूमा तैनाथ गरिएको थियो।
यात्राको सफलताका लागि वीरगन्ज महानगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो र वीरगन्जवासीलाई यात्रामा सहभागी हुन अपिल गरेको थियो।
विशिष्ट व्यक्तित्वको उपस्थिति र आगामी कार्यक्रम
यात्रामा नेपाल र भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्वहरू सहभागी थिए। सहभागीमध्ये जानकी मन्दिरका महन्त राम रौशन दास, भारत मध्य प्रदेशका नेता रविशंकर साहु, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय, तथा प्रहरी उपरीक्षक गौतम मिश्र प्रमुख थिए।
रथ यात्रापछि प्रसाद वितरण र भण्डारा गरिनेछ। यात्रा व्यवस्थापन समितिले जनाएअनुसार, शुक्रबार (असार १४ गते) बेलुकी ७ बजेदेखि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ भने असार १४ गते पनि भोग एवं भण्डारा आयोजना गरिनेछ।