फाप्लु, सोलुखुम्बु। पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार हवाई उडान सुचारु भएको छ। प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि विमानस्थल अवरुद्ध रहेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार, बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको छ। जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए।
उक्त क्षेत्रको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बार लामो समय उडान ठप्प हुने गरेको छ। जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो।
स्थानीय पदम श्रेष्ठका अनुसार, जहाज अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तलाई काठमाडौं पठाउन समस्या भएको थियो। सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरूको मुख्य प्रवेशद्वार लुक्ला भए पनि फाप्लुलाई वैकल्पिक स्थलका रूपमा लिइन्छ। यातायात व्यवसायी मिंमार शेर्पाले मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको बताए।
यस्ता लामो समयसम्म हुने उडान अवरोधले स्थानीय जनजीवन र पर्यटन व्यवसायमा कस्तो प्रभाव पार्ला ?
रासस