ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा पर्ने महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सबइन्जिनियर सविन दाहालको मृत्यु भएको छ।
महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो।
चौलागाईंले भने, “खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ।” उनले सो क्षेत्रका सबै सडक बन्द रहेको र नेपाली सेनालाई खबर गरेर हेलिकोप्टर मगाइएको जानकारी दिए।
यो घटनाले ग्रामीण क्षेत्रमा वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्तिको जोखिमलाई उजागर गरेको छ।