काठमाडौं। नेपाल पत्रकार महासंघले दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध विशेष अदालतले गरेको आदेशप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा असार ८ गते प्रकाशित ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारलाई लिएर पत्रकारहरूमाथि फौजदारी अभियोग लगाई आदेश जारी गरिनु सुखद् नभएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “समाचारको विषयलाई अपराधीकरण गर्न नहुने दृष्टिकोण महासंघले राख्दै आएको छ। यस प्रकरणमा महासंघले कानुनी सहजीकरण गर्नेछ।” महासंघले सञ्चारमाध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशन/प्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको स्मरण गराउँदै यसरी पत्रकारहरूविरुद्ध फौजदारी अभियोग लगाइनुले प्रेसको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप भएको र यो प्रचलित कानुन तथा पत्रकारिताको लोकतान्त्रिक अभ्यासअनुकूल नभएको जनाएको छ।
महासंघले न्यायपालिकाको काम र कर्तव्यको सधैँ सम्मान गर्ने भए पनि पछिल्लो आदेशले प्रेस स्वतन्त्रताको सवालमा प्रश्न खडा गरेको बताएको छ। प्रकाशित समाचारमा चित्त नबुझे त्यसका लागि प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार हुने भएकोले सोहीमार्फत प्रक्रिया अगाडि बढाउन र अदालतको आदेशमा पुनर्विचार गर्न महासंघले सम्बन्धित निकायसँग विशेष आग्रह गरेको छ।