पर्सागढी । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वीरगञ्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरद्वारा सञ्चालित २० दिने बाँसको हस्तकला तालिम मंगलबार सम्पन्न भएको छ। नगरपालिकाको सहयोगमा आयोजित यस तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले तालिममा सिकेका सीपलाई व्यावसायिक रूप दिन सहभागी महिलाहरूलाई आग्रह गरे। उनले मोबाइलमा अनावश्यक समय बिताउनुभन्दा सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्नु पर्नेमा जोड दिए।
मेयर पाठकले नगरपालिकाले महिलाहरूको क्षमता विकास र आत्मनिर्भरताका लागि निरन्तर सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले बाँसको हस्तकलामा आधारित उत्पादनलाई बजारसँग जोडेर आयआर्जनमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। यसै क्रममा उनले पर्सागढी नगरपालिकामा हस्तकला प्रदर्शनका लागि एउटा स्थायी प्रदर्शनी घर स्थापना गरिने र त्यसको भाडा नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिने जानकारी पनि दिए।
वीरगञ्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक उमाशंकर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पर्सागढी वडा नं. २ का वडा अध्यक्ष विरेन्द्र महतो थारू, सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, युवा समाजसेवी अमिताभ बच्चन दास, ट्रिब्यूनन्युजका सम्पादक नीरज पिठाकोटे मगर, समाजसेवी कैलाश दास थारू, मेडपाकी कार्यक्रमकी सुमित्रा बराल, प्रशिक्षक मुन्ना कुमार यादवलगायतको उपस्थिति रहेको थियो।
तालिममा सहभागी महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सजावटी र प्रयोगात्मक सामग्रीहरू निर्माण गर्ने सीप सिकेका थिए। उनीहरूले आफूले सिकेका सीपलाई भविष्यमा रोजगारी र व्यवसायको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। समापन समारोहको सञ्चालन सुनिल रौनियारले गरेका थिए ।