काठमाडौं । पाकिस्तानले भारत र पाकिस्तानबीचको युद्धविराम वार्तामा खेलेको भूमिकाको कदर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका निम्ति मनोनयन गर्ने योजना घोषणा गरेको छ।
सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मा पाकिस्तानी सरकारले हालैको भारत–पाकिस्तान संकटको समयमा ट्रम्पले गरेको ‘निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्व’ का निम्ति उनी यो पुरस्कारको हकदार भएको उल्लेख गरेको बीबीसीले जनाएको छ।
पाकिस्तान सरकारले शनिबार बिहानको आफ्नो पोस्टमा भनेको छ, “राष्ट्रपति ट्रम्पले इस्लामावाद र नयाँ दिल्ली दुवैसँग बलियो कूटनीतिक संलग्नतामार्फत उत्कृष्ट रणनीतिक दूरदर्शिता र उत्कृष्ट राज्यकौशल प्रदर्शन गरेकाले तीव्र रूपमा बिग्रँदै गएको अवस्थालाई कम गर्न सहयोग गरेको छ। यो हस्तक्षेप उनको वास्तविक शान्तिको पहलकर्ताका रूपमा भूमिकाको प्रमाण हो।”
मे महिनामा ट्रम्पले भारत-पाकिस्तानबीच युद्धविरामको आश्चर्यजनक घोषणा गरेका थिए। आणविक हतियारसम्पन्न दुई छिमेकी मुलुकबीच चार दिनको युद्धपछि यस्तो घोषणा गरिएको थियो।
यद्यपि, भारतले उक्त युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थकर्ताका रूपमा काम गरेको अस्वीकार गरेको छ, र तेस्रो पक्षबाट कुनै कूटनीतिक हस्तक्षेप नचाहेको जनाएको छ। ट्रम्पले भने आफूले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने बताउँदै आएका छन्। यस पुरस्कारको विजेता आउँदो अक्टोबरमा घोषणा गरिनेछ।