पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियामा मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी कुमारी ठाकुरले संयुक्त रूपमा सडक ढलान तथा कालोपत्रे र नाला निर्माण कार्यको शिलान्यास गरेका छन् । संघीय सरकारको २ करोड ८० लाख रुपैयाँ लागतमा १०४ मिटर लम्बाइ र ६ मिटर चौडाइको सडक ढलान तथा ३९४ मिटर नाला निर्माण हुनेछ।
रु रु कन्स्ट्रक्सनले ठेक्का लिएको यस निर्माण कार्यअन्तर्गत कमल मुखिया विनको घरदेखि नहर हुँदै कालोपत्रे, लक्ष्मण सिंह ख्वासको घरदेखि राधाकृष्ण मन्दिरसम्म कालोपत्रे, दलित बस्ती नजिक रहेको मस्जिददेखि स्ल्याब कल्भर्टसम्म ढलान र मन्सुर मियाको घरदेखि नहर हुँदै ग्राभेल रोडसम्मको काम हुनेछ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर चौहानले ठेकेदारलाई इस्टिमेटअनुसार काम गर्न निर्देशन दिँदै निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा ठेकेदार वा निर्माण कम्पनीले लापरबाही गरे कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो। साथै, उहाँले स्थानीयवासीलाई निर्माण कार्यको अनुगमन गर्न आग्रह गर्नुभयो।
वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा सम्पन्न सडक ढलान, सडक कालोपत्रे र नाला निर्माणको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान, उपमेयर रुबी कुमारी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, इन्जिनियर सुमित प्रसाद यादव, अखिलेश प्रसाद चौरसिया, ज्ञानेन्द्र यादव, हृदयलाल साह लगायत स्थानीयहरूको सहभागिता रहेको थियो।