असार ६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई लक्षित गरी सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार होटल मकालुमा आयोजित कार्यक्रममा महानगरका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले खाद्य सुरक्षा, सरसफाइ र उपभोक्ताको अधिकारसम्बन्धी विविध पक्षमा जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगर आफैं अनुगमनकारी निकाय भएकाले व्यवसायीहरुले अनुगमन हुनु अघि नै आवश्यक मापदण्डका बारेमा जानकारी लिनुपर्ने बताए। उनले “अबको अनुगमन सतर्क र प्रभावकारी हुने छ,” भन्दै व्यवसायीहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे।
कार्यक्रमको अध्यक्षता गरेका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमुखीकरण कार्यक्रम व्यवसायीका लागि उपयोगी रहेको बताए। उनले अनुगमनका क्रममा व्यवहारिक पक्ष पनि ध्यानमा राख्न आग्रह गरे।
कार्यक्रम सञ्चालन होटल एशोसिएसन अफ नेपाल ९हान० मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए।