वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लामा भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाएको छ । यहि क्रममा दुई जना सरकारी अधिकारीलाई पक्राउ गरेको छ। आयोगको टोलीले बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई अलग(अलग अभियोगमा पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँबाट खटिएको टोलीले बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा पक्राउ गरेको छ। आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ।
त्यसैगरी, आयोगले पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पनि भ्रष्टाचारको आरोपमा उनको निवास प्रगतिनगरबाट पक्राउ गरेको छ। मेयर प्रदुमन चौहानका विश्वासपात्र मानिने साहले पोखरिया नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार र सेवाग्राहीसँग अनाधिकृत रूपमा घुस लिएको पाइएको अख्तियारले जनाएको छ। प्रारम्भिक अनुसन्धानले साह नगरपालिकाअन्तर्गतका विभिन्न परियोजना, ठेक्का तथा आपूर्ति प्रक्रियामा अनियमितता र घूस लिने गतिविधिमा संलग्न रहेको देखाएको छ।
अख्तियारले दुवै अधिकारीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी दिएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ।