काठमाडौं । थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको गठबन्धन सरकार पतनको संघारमा पुगेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँग उनले गरेको सीमा विवादबारेको गोप्य कुराकानी सार्वजनिक भएपछि सरकारमाथि गम्भीर संकट आइपरेको हो। फोनवार्तालाई लिएर जनताले आक्रोश पोखिरहेका छन् भने गठबन्धनको प्रमुख साझेदार पार्टीले सरकार छाड्ने घोषणा गरिसकेको छ।
सार्वजनिक भएको फोनवार्तामा पेटोन्टार्नले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन्। यस्तै, एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने अभिव्यक्ति अडियोमा सुनिन्छ। बढ्दो दबाबपछि पेटोन्टार्नले बिहीबार (हिजो) लिक भएको अडियोका लागि माफी मागेकी छन्।
गठबन्धनमा दरार र बहुमत गुमाउने खतरा
पेटोन्टार्नको गठबन्धन सरकारमा दोस्रो ठूलो दल भुमजाइथाईले बुधबार (आज) गठबन्धन छाडेपछि प्यू थाई पार्टीलाई ठूलो धक्का पुगेको छ। पेटोन्टार्नको गठबन्धनसँग अहिले झिनो बहुमत छ। गठबन्धनका थप साझेदारले सरकार छोड्ने निर्णय लिए उनले बहुमत गुमाउने सम्भावना बढेको छ। अन्य दुई गठबन्धन साझेदारले बिहीबारपछि यस विषयमा छलफल गर्ने बताएका छन्।
आलोचकहरूले पेटोन्टार्नले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्नु र उनको माग पूरा गर्ने वाचा गर्नु आपत्तिजनक रहेको बताएका छन्। उनीहरूले पेटोन्टार्नले देशको राजनीतिकरूपमा प्रभावशाली सेनालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन्। फोनवार्तामा उनले हुन सेनलाई थाई सैन्य कमान्डरले सीमा तनाव बढाएर आफूलाई राम्रो देखाउन खोजेको र आपत्तिजनक कुरा गरेको बताएकी थिइन्।
पारिवारिक सम्बन्ध र विपक्षीको माग
शिनावात्रा परिवार र कम्बोडियाको हुन सेन परिवारबीच दशकौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताइन्छ। हुन सेन र पेटोन्टार्नका पिता, पूर्वथाई प्रधानमन्त्री थाक्सिन शिनावात्रा, एकअर्कालाई दाजुभाइ मान्छन्।थाई नेतृ पेटोन्टार्नले फोन कललाई सामान्य ‘वार्ताको तरिका’ भनेर बचाउ गरेकी छन्, तर विपक्षी नेताहरूले उनको राजीनामा माग गरेका छन्।
हुन सेनले अडियो क्लिप ८० नेतालाई दिएको र तीमध्ये एकजनाले लिक गरेको बताएका छन्। उनले पछि १७ मिनेट लामो सबै रेकर्डिङ फेसबुकबाट सार्वजनिक गरेका थिए।
यो घटनाले थाई राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ, र सरकारको भविष्य अन्योलमा परेको छ।
बीबीसीबाट ।