वीरगञ्ज, पर्सा। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध करोड लाख हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ। लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा सहकारीको कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।
प्रहरीले यस सहकारी ठगी प्रकरणको अनुसन्धान वैशाख १४ गते नै सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेसहितका २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
हाल लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
सहकारी अपचलनको विवरण
सानो पाइला सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन्। तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको यो सहकारीले करिब ८०० बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो।
सहकारीले ऐन विपरीत सदस्यसमेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिहरूलाई ऋण दिएर रकम अपचलन गरेको आरोप लागेको छ। बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरी अपचलन गरेको दाबी गरिएको छ।
यस सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख रुपैयाँ, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख रुपैयाँ र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ कर्जा प्रवाह गरिएको विवरण मुद्दामा उल्लेख छ। यस मुद्दाले सहकारी क्षेत्रमा व्याप्त अनियमितता र उच्च पदस्थ व्यक्तिहरूको संलग्नतालाई पुनः प्रकाशमा ल्याएको छ।