वीरगन्ज । मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री रहबर अन्सारीले विद्यार्थीलाई भविष्य निर्माणका लागि व्यवहारिक ज्ञान अपरिहार्य शर्त भएको बताएका छन् ।
वीरगन्ज कलेजले बीबीएस प्रथम बर्षका विद्यार्थीहरुका लागि आयोजना गरेको सञ्चार, आत्मविश्वास र सहकार्य सम्बन्धि तालिम ‘सफ्ट स्कील’ उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री अन्सारीले सफलता प्राप्त गर्नका लागि किताबी ज्ञान मात्रै होईन व्यवहारिक ज्ञान र सीपको पनि आवश्यकता पर्ने बताए ।
सफल व्यक्तिका लागि प्रमाणपत्रले मात्रै नहुने र त्यसको लागि व्यक्तिगण गुण, उसले गर्ने सामाजिक व्यवहार, एकअर्कासँग गरिने सूचना सञ्चारको आदान प्रदान र सहकार्य गर्ने क्षमता पनि हुनुपर्ने बताए । व्यक्ति पद, पैसा र पहुँचले मात्रै सफल नहुने भन्दै उसको व्यक्तित्व र उसमा हुनुपर्ने मानवयीय गुणले पनि उसलाई सफल बनाउन मद्दत पुग्ने बताए ।
व्यक्तिगत गुण, भन्नाले मानिसको व्यक्तिगत गुण, सामाजिक व्यवहार, सञ्चार शैली र अन्य मानिसहरूसँग सहकार्य गर्ने क्षमता कसरी गर्ने भन्ने सिकाई सिकाईने र यी सीपहरू कुनै पनि पेसागत वा व्यक्तिगत जीवनमा सफलता पाउन अत्यन्त आवश्यक रहने कलेजका सञ्चालक समिति अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले बताए ।
त्यसैले वीरगन्ज कलेजका बीबीएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि सफ्ट स्कीलको शक्तिको रुपमा व्यक्तिगत गुण, सामाजिक व्यवहार, सञ्चार कौशल लगायतको कुराहरुको पनि आवश्यकताको बारेमा सिकाईएको कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
होटल भिस्वामा डा.चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले ज्ञान, सीप र सञ्चारले मात्रै नभई सही सूचना पनि हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ट्रिब्यून नेपालका सम्पादक नीरज पिठाकोटे मगर, प्याब्सनका सल्लाहाकार प्रकाश उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, शिक्षकहरु डा.अशोकराज ठाकुर, दिपेश कर्ण, डिके दास, मनिष गौतम लगायत कलेजका विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेजका शिक्षक कृष्णा पासवानले गरेका थिए ।