काठमाडौं । चीनले इजरायलले इरानमा गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा चीनका प्रतिनिधि फू कोङले इजरायलले इरानको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन गरेको बताएको बीबीसीले जनाएको छ।
आज (शुक्रबार) बसेको परिषद्को बैठकमा उनले इजरायलको आक्रमणले जारी आणविक वार्तामा नकारात्मक प्रभाव पारेको बेइजिङको भनाइ प्रस्तुत गरे। बेइजिङले इजरायललाई तत्काल सबै सैन्य कारबाही रोकेर तनावलाई नबढाउन आग्रह गरेको छ।
फू कोङले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्न पाउने इरानको अधिकारलाई सम्मान गर्नुपर्ने पनि बताए। चीन तेहरानको एक प्रमुख साझेदार हो, विशेषगरी ऊर्जा र पूर्वाधारका क्षेत्रमा दुई देश साझेदारी गर्दै आएका छन्।
बीबीसीबाट ।