रौतहट। रौतहटको चन्द्रपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग करिब ६ घण्टासम्म अवरुद्ध भएको थियो। बिहान करिब ४ देखि ५ बजेको बीचमा चन्द्रपुर–१ मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बालाई अज्ञात सवारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने सवारी फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार, प्रहरी प्रशासनले २४ घण्टाभित्र दोषी सवारी पत्ता लगाउने प्रतिबद्धता जनाएपछि स्थानीयले बाटो खुलाएका हुन्।
प्रहरीले शंकास्पद सवारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। साथै, घटनाको अनुसन्धानका लागि राजमार्गमा जडित सीसीटीभी फुटेज जाँच भइरहेको र ट्राफिक प्रहरीले निगरानी कडा बनाएको छ। ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले राजमार्ग अवरुद्ध हुँदा धेरै गाडी र यात्रुहरू समस्यामा परेको बताए। मृतकका परिवारले सहमतिपछि शव पोस्टमार्टमका लागि अस्पताल पठाएका छन्।