बर्दीवास। बर्दीवास नगरपालिकामा स्वाधीन समृद्ध नेपाल र ओम चावहिल डेन्टल हस्पिटलको संयुक्त आयोजनामा तीन दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। दन्त स्वास्थ्यमा जनचेतना बढाउन र सहज पहुँच पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यो शिविर आगामी असार २, ३ र ४ गते सम्पन्न हुनेछ।
शिविर बर्दीवास नगरपालिकाका विभिन्न वडाहरूमा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। असार २ गते वडा नं. १, २, ३ र १४ मा दन्त उपचार सेवा प्रदान गरिनेछ भने असार ३ गते वडा नं. ४, ५, १० र ११ का लागि टूटेश्वरमा शिविर आयोजना गरिने जनाइएको छ। त्यसैगरी, असार ४ गते वडा नं. ६, ७, ८, ९, १२ र १३ मा पर्ने हातीलेट क्षेत्रलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरिनेछ।
स्वाधीन समृद्ध नेपालका केन्द्रीय अध्यक्ष टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सञ्चालन हुने यस शिविरमा दन्त परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकहरूले बताएका छन्। बलम्पाकीका अनुसार, “स्वास्थ्य जनताको पहिलो अधिकार हो भन्ने मान्यताका साथ बर्दीवास नगरवासीलाई सहज, गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो।”
यस शिविरमा ओम चावहिल डेन्टल हस्पिटलका दक्ष दन्त चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ भने स्थानीय स्वयंसेवकहरूमार्फत व्यवस्थापनमा सहयोग पुर्याइनेछ। आयोजकहरूले यस शिविरबाट बर्दीवास नगरपालिका तथा वरपरका हजारौँ नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।