वीरगन्ज । बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का बेला जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी र प्रतिकार्य क्षमतामा सुधार ल्याउने उद्देश्यले पर्साको ऐतिहासिक घडिअर्वा पोखरीमा विपद् व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा सम्पन्न उक्त अभ्यास कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका गणपति राधेश्याम धिमाल, प्रहरी उपरीक्षक गौतम मिश्र, रेडक्रस जिल्ला शाखाका अध्यक्ष बृजकिशोर पटेल, एनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाईलगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले गरेका थिए।
अभ्यासमा स्थानीय वडाध्यक्षहरू, नेपाल स्काउटका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति थियो। सशस्त्र प्रहरी बलका सूचना अधिकारी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले दिएको जानकारीअनुसार, अभ्यासका क्रममा विपद्को समय अपनाउनुपर्ने प्राथमिक सुरक्षा उपाय, उद्धारको अभ्यास, आपतकालीन समन्वय, तथा राहत व्यवस्थापन सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो।
उनका अनुसार, अभ्यासको उद्देश्य स्थानीय स्वयंसेवक र समुदायलाई विपद्को तुरुन्त प्रतिक्रिया, उद्धार र समन्वय क्षमतामा सक्षम बनाउनु रहेको थियो।