काठमाडौं। कोसी प्रदेशमा मनसुन भित्रिएको १३ दिन भइसकेको भए पनि अझै पश्चिमतर्फ अगाडि बढेको छैन। जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अझै केही समय कोसीमै सीमित रहनेछ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार, अबको दुई/तीन दिनबाट मनसुनले गति लिनेछ र देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ। यद्यपि, प्रणाली परिपक्व हुन केही दिन लाग्ने देखिन्छ। कोसी प्रदेशमा मनसुन लामो समय ‘ब्रेक’ हुनु सामान्य प्रक्रिया भएको उनले बताए। यसअघिका वर्षमा पनि यस्तो हुने गरेको र गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन ‘ब्रेक’ भएको उनले स्मरण गराए।
अर्यालका अनुसार, कोसी प्रदेश बंगालको खाडी नजिक रहेकाले मनसुनी वायु नेपालमा अन्य प्रदेशको तुलनामा चाँडै आउँछ। पश्चिमी वायुभन्दा मनसुनी वायु थप सक्रिय र बलियो भएपछि मात्रै अन्य प्रदेशमा मनसुन फैलिँदै जानेछ।
मनसुन ‘ब्रेक’ हुनु सामान्य
मौसमविद्हरूले पानी पर्नुलाई मात्रै मनसुन सक्रिय भएको नबुझ्न आग्रह गरेका छन्। मनसुनमा ‘एक्टिभ’ र ‘ब्रेक’ दुवै अवस्था हुने र अहिले कोसी प्रदेशमा भएको पनि यही नै भएको मौसमविद् सञ्जिव अधिकारीले बताएका छन्। ‘ब्रेक’ लागेको समयमा मनसुन प्रणाली फर्किएको भन्नु गलत भएको उनीहरूको भनाइ छ।
मनसुन सक्रिय भएको घोषणा गर्नलाई दुई दिनसम्म वर्षा हुनुपर्ने र भन्दा बढी भूभागमा वर्षा भएको हुनुपर्ने मापदण्ड रहेको अधिकारीले जानकारी दिए।
मनसुन देशभर फैलिन लाग्ने समय
गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो, तर यो वर्ष त्यो रेकर्ड तोडिएको छ। मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ, जसका लागि केही समय लाग्ने गर्दछ।
मौसमविद् डेबिड ढकालका अनुसार, गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो। सामान्यतया मनसुन देशभर फैलिन सातदेखि १२/१५ दिनसम्म लाग्ने गर्दछ। यसपटक भने १३ दिनसम्म कोसीमै मनसुन सीमित भएको छ। गत वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो।
मौसमविद् ढकालका अनुसार, मनसुन प्रवेश गरेपछि यदि पश्चिमी वायु पूर्वतर्फ चल्यो भने देशभर फैलिन लामो समय लाग्छ, तर यदि हावाको वेग पूर्वबाट पश्चिमतर्फ चल्यो भने चाँडै मनसुन देशभर फैलिन्छ।