काठमाडौं। आइतबार अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका ३७ जनामध्ये ५ जना नेपाली महिला पनि अवैध बाटोबाट अमेरिका गएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गरेको सोधपुछका क्रममा उनीहरूले यो कुरा खुलाएका हुन्।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, यी महिलाहरूले ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर दुबई–ब्राजिल हुँदै मेक्सिकोसम्मको डंकी रुट प्रयोग गरेका थिए। यद्यपि, उनीहरूले अमेरिका पठाउने दलालहरूबारे भने कुनै महत्त्वपूर्ण सूचना दिएनन्। ब्यूरोका अधिकारीले ‘केहीले पहिलो वा दोस्रो नाम मात्र भने पनि त्यो उल्लेखनीय थिएन’ भन्दै सामान्य सोधपुछपछि उनीहरूलाई पछि कार्यालयमा उपस्थित हुन भन्दै छाडिएको जानकारी दिए। बाटोमा दुर्व्यवहार भएको बारे सोधपुछ गर्दा भने उनीहरूले अस्वीकार गरेको स्रोतले बताएको छ।
डिपोर्ट भएर आएका महिलामध्ये ४ जना दाङ र १ जना म्याग्दीकी छन्। दुई जना २२/२३ वर्षका छन्। उनीहरू अमेरिकी सीमासम्म पुगे पनि मेक्सिकोको पर्खाल नाघ्ने बित्तिकै पक्राउ परेको र केही समय कानुनी प्रक्रियापछि डिपोर्ट भएको अधिकारीहरूले बताए।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, डिपोर्ट भएका ३७ जनामध्ये एक जना डीभी परेर गएका र अर्का एक जना विद्यार्थी भिसामा गएका युवक काठमाडौंका स्थायी बासिन्दा रहेको खुलेको छ। उनीहरूलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको चार्टर्ड विमानमा ढाका हुँदै काठमाडौं ल्याइएको थियो।
प्रहरीले उनीहरूबाट अवैध बाटो पठाउने गिरोहबारे सूचना लिन खोजे पनि उनीहरूले समन्वय नगरेको अधिकारीहरूले बताएका छन्। यसअघि फागुन २१, २०८१ मा डिपोर्ट भएर आएका ८ जना नेपालीले पनि दलालहरूबारे सूचना नदिएको अनुसन्धान अधिकारीले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन्। सन् २०२५ जनवरी २० देखि मे महिनासम्मको अवधिमा मात्रै १४० जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार, डिपोर्ट हुने नेपालीहरूको संख्या लगातार बढिरहेको छ। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।