काठमाडौं। अमेरिकाले ‘डिपोर्ट’ गरी एकसाथ पठाएका ३७ नेपाली आइतबार (आज) साँझ काठमाडौं आइपुगेका छन्। अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमा नेपाल पठाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिएअनुसार, यो संख्या यति ठूलो मात्रामा नेपालीलाई एकैपटक डिपोर्ट गरी अमेरिकाले पठाएको यो पहिलोपटक हो।
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय (आईसीई) को चार्टर्ड विमानमा उनीहरू काठमाडौं आएको जनाएको छ। दूतावासले “अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू उक्त उडानमा रहेका थिए,” भनेको छ।
अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको थियो। आइतबार आइपुगेका ३७ जना समेत जोड्दा अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या १७७ पुगेको छ। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ।
डिपोर्ट भएका नेपाली काठमाडौं आउनु केही दिनअघि अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाइनेछ, जसले अवैध बाटो अमेरिका पठाउने मानव तस्करबारे सोधपुछ गर्नेछ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ। ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए र शपथ लिएलगत्तै अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि ट्रम्प प्रशासनले १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो। सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो।