काठमाडौं। प्रमुख विपक्षी दलहरूले केही सातायता प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन्। सत्तापक्ष विपक्षीको मागमा सहमत छैन।
जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता विपक्षीको अवरोध कायम छ। दुवै पक्षका आ–आफ्ना अडानका कारण प्रतिनिधिसभा बैठक चल्न सकेको छैन। सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि शुक्रबारको प्रतिनिधिसभाको बैठक पनि स्थगन भएको थियो।
संसद् सचिवालयले आज (आइतबार, जेठ २६) दिउँसो १ बजेका लागि बैठक राखेको जनाएको छ। सदन खुलाउने विषयमा विपक्षी दलहरू केही लचक देखिएका छन्। शुक्रबार विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिनको विश्वसनीय आधार सरकारतर्फबाट आएमा सदन चल्न दिने संकेत गरेका थिए।
आजको बैठकको सम्भावित कार्यसूची:
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने।
- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।