वीरगन्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज पर्सागढी नगरपालिका वडा नम्बर २, कटानीस्थित श्री श्री जनकहरि हंशबाहिनी आधारभूत विद्यालयमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदानको प्रमुख अतिथि पर्सा गढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उद्घाटन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, स्वास्थ्य अधिकृत नारायण पौडेल, गंगा खड्का, मुना पन्त, सीतादेवी लामा, ऋचा अर्याल, लक्ष्मी विश्वकर्मा लगायत ५५ जना रहेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा उपमेयर पूजा चौधरी, वडा नम्बर २ का अध्यक्ष वीरेन्द्र महतो थारु, प्रतिष्ठानका सल्लाहकार अमिताभ बच्चन दास, सदस्य रमेश मानन्धर, अञ्जु राना मगर, बसुन्धरा अधिकारी तिवारी, पर्सागढी मन्दिर व्यावस्थापन समिति अध्यक्ष वृजमोहन चौधरी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिष्ठानले सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउँदै आएको छ र यो रक्तदान कार्यक्रम पनि सोही सन्दर्भको निरन्तरता भएको अध्यक्ष श्रेष्ठले बताए । रगतको अभावलाई पूरा गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उपस्थित व्यक्तित्वहरुको भनाई थियो ।