भक्तपुर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठ्यारो परिस्थितिमा गएको बताए।
नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको उनको भनाइ छ। कोइरालाले कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै उनले सत्ताको चाबी कांग्रेसले खोस्नुपर्ने बताए।
कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिकसमक्ष लैजानुपर्नेमा उनको जोड छ। “एमालेले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ,” उनले भने, “नेपाली कांग्रेसका कार्यकर्ताले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन्।”