काठमाडौं। नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योंग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प वली सर्वसम्मत चुनिएका छन्। जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिन वाईसीएलले अध्यक्ष र महासचिव सर्वसम्मत टुंगो लगाएको हो।
वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार, अध्यक्षमा पुष्प वली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन्।
वाईसीएल अध्यक्षका लागि सुरुमा १३ जना आकांक्षी थिए। छलफलपश्चात ७ जना पछि हटेका थिए। महासचिव चुनिएका गणेश शाही पनि अध्यक्षकै आकांक्षी थिए। वलीसँगै केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐरलगायत अध्यक्षका आकांक्षी थिए।
अध्यक्ष निर्वाचित वलीले ‘बृहत छलफलपछि उहाँहरू सर्वसम्मत चयन गर्ने विषयमा सहमत हुनुभयो’ भन्दै तत्कालका अध्यक्ष र महासचिव टुंगो लागेको बताए। उनले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा छलफल भइरहेको र बेलुकासम्म टुंगो लाग्ने बताए।
वाईसीएलमा यसअघि ६१ पदाधिकारी र तीन आयोग (लेखा, निर्वाचन र अनुशासन) सहित ३५१ सदस्यीय केन्द्रीय कमिटी थियो। यसपालि सर्वसम्मत नेतृत्व चयन गर्दा १० जना पदाधिकारी थप गर्ने तयारी रहेको पनि अध्यक्ष वलीले बताए। उनले भने, ‘सर्वसम्मतिमा चयन गर्दा पदाधिकारीको संख्या बढाउनुपर्ने देखियो। सोहीअनुसार ६१ बाट ७१ पुग्ने भयो।’