जनकपुरधाम। मधेश प्रदेशको राजनीतिमा फेरि एक पटक नयाँ मोड आएको छ। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गर्दै, सत्तासाझेदारीको पालोअनुसार जनमत पार्टीले अब सरकार छाड्नुपर्ने समय आएको स्पष्ट संकेत गरेको छ।
शुक्रबार (जेठ २४) जनकपुर पुगेका कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “अब कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार बन्ने निश्चित भइसकेको छ। आलोपालो सरकार सञ्चालनको सहमति अनुसार अब पालो हाम्रो हो।”
यसअघि गृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकले पनि प्रदेश सरकार पालोपालो नेतृत्व गर्ने सहमति भएको बताउँदै, चाँडै कांग्रेसको सरकार बन्ने संकेत दिएका थिए। लेखकले भनेका थिए, “मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने सहमति गरेका छौँ, अब परिवर्तन हुन्छ।”
यस्तै, कांग्रेस महासचिव विश्वप्रकाश शर्मा र वरिष्ठ नेता विमलेन्द्र निधिले पनि अघिल्लो महिनाहरूमा मधेस प्रदेशको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिँदै आएका छन्। शर्मा मंसिरमा लहान पुगेका बेला जनमत नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका थिए।
स्रोतका अनुसार, सत्तारुढ गठबन्धनभित्र एक-एक वर्षको आधारमा सरकार सञ्चालन गर्ने सहमति भएको थियो। जनमत पार्टीको नेतृत्वमा बनेको सरकारले जेठ २५ गते एक वर्ष पूरा गर्दैछ। त्यसैले कांग्रेसले अबको नेतृत्व आफ्नो हुनुपर्नेमा जोड दिएको हो।
जनमत पार्टीभित्रै पनि नेतृत्व परिवर्तनका संकेत देखिन थालेका छन्। पार्टी स्रोतका अनुसार अध्यक्ष डा. सिके राउतले मुख्यमन्त्री सतिश कुमार सिंहलाई जुनसुकै बेला सरकार छाड्न तयार रहन निर्देशन दिइसकेको जानकारी बाहिरिएको छ।