पर्सा। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले जेठ २४ गते बहुदरमाई नगरपालिका- ५ डकैला चोकबाट ७५ कार्टुन (७५०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ। भारतबाट अवैध रूपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा ती चल्ला नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका चल्लाहरू स्थानीय जन प्रतिनिधि, संचारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नं.१३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्। चल्ला पैठारी कार्यमा प्रयोग भएका तीन वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको पनि उनले बताए।