वीरगन्ज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने ट्यारिफ (आयात कर वा भन्सार शुल्क) २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णयसँगै धातु आयातमा गत मार्चयता ट्रम्पले दोस्रोपटक कर बढाएका हुन्। यसअघि मार्चमा स्टील र आल्मुनियम आयातमा २५ प्रतिशत बनाएका थिए।
आज (बुधबार, जुन ४, २०२५) देखि लागु हुने कर बढाउने ट्रम्पको यो कदमले अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने दाबी गरेको बीबीसीले जनाएको छ।
यो कदमले अब अमेरिकामा स्टील र आल्मुनियमको मूल्य बढ्ने छ। यी धातुहरू कारदेखि क्यानमा प्याकेजिङ गरेर बेचिने खाद्य पदार्थसम्म विभिन्न उत्पादनको लागि प्रयोग गरिन्छ। तर, आलोचकहरूले यसले अमेरिका बाहिरका स्टील उत्पादकहरूलाई ठूलो नोक्सानी पुर्याउने, व्यापारिक साझेदारहरूबाट प्रतिशोधात्मक कदमहरूको सुरुआत गराउने र अमेरिकी धातु प्रयोगकर्ताहरूलाई खर्चिलो पर्ने बताएका छन्।
कर बढाउने केही घण्टा अगाडिसम्म पनि प्रत्यक्ष प्रभावित कम्पनीहरूले यो योजना लागु हुने विश्वास गर्न सकिरहेका थिएनन्। उनीहरूले यो अस्थायी वा कुनै किसिमको व्यापारिक चाल हुनसक्ने आकलन गरेका थिए।
अमेरिकी सरकारका अनुसार अमेरिका युरोपेली युनियनपछि विश्वको दोस्रो ठूलो स्टील आयातकर्ता हो। यसले धेरैजसो स्टील क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट आयात गर्छ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण मानिने उद्योगहरूको सुरक्षा गर्ने भन्दै स्टीलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए। तर, साझेदारहरूसँग व्यापार सम्झौता भएपछि धेरै आयातमा यो कर लागेन र कम्पनीहरूको अनुरोधमा केही आयातलाई छुट दिइयो। मार्चमा ट्रम्पले यी छुटहरू रद्द गरेका थिए।