काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ। जेठ १८ गते (शनिबार) उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि (जेठ १९) बयान थालेको स्रोतले बताएको छ।
अख्तियार स्रोतका अनुसार, “दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत थालिएको छ। यसबीचमा उहाँबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको छ।”
अख्तियार स्रोतले अध्यागमन कार्यालयबाट केही कर्मचारीहरूले मानव तस्करीको काम समेत गरेको खुलेको बताएको छ। नेपाली महिला कामदारका लागि जोखिमयुक्त मुलुकमा लैजानका लागि भिजिट भिसाको प्रयोग गर्ने क्रममा चर्को रूपमा असुलीको काम भइरहेकोबारे केही सूचना आएको र त्यसबारे समेत अनुसन्धान भइरहेको अख्तियार स्रोतले जानकारी दियो।
अख्तियारमा नियमित बयान दिन जानुपर्ने भएपछि गृहमन्त्रालयका सहसचिव भट्टराई एक दिन गृह मन्त्रालयमा हाजिर भएर बिदामा बसेका छन्। उनको कार्यालयले दिएको र व्यक्तिगत दुवै फोन अख्तियारको नियन्त्रणमा छ।
सहसचिव भट्टराई जेठ ७ गते (२०८२) पक्राउ परेका थिए र हाजिरी जमानीमा छुटेका छन्।