भरतपुर । बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले सोमबार (जेठ २०) भगिनी सम्बन्ध कायम गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्नेगरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको हो। गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले नौ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरेका छन्।
सहयोगका क्षेत्र:
- शिक्षा
- स्वास्थ्य
- कृषि तथा पर्यटन
- पूर्वाधार
- संस्कृति
- संयुक्त उद्यम
- भौतिक तथा आर्थिक सहयोग
- विभिन्न असल अभ्यास अनुभव आदानप्रदान
समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आयआर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्नेलगायतका बुँदा रहेका छन्।
भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने र अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने बताइन्। ताराखोला गाउँपालिका अध्यक्ष विकले भरतपुर महानगरबाट यहाँका असल अभ्यासको सिकाइ गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्दै भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको बताए।