वीरगन्ज। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेसँग अब सहकार्य नहुने स्पष्ट पारेका छन्। शनिबार (जेठ १७, २०८२) कीर्तिपुरमा आयोजित माओवादी केन्द्र कीर्तिपुर नगर समितिको पिकनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अघिल्ला सहकार्यहरूले माओवादीमा “सरुवा रोग” जस्तै असर गरेको टिप्पणी गरे।
“हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको त रोग पनि सरुवा हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं,” प्रचण्डले भने, “अब हामी उनीहरूसँग सहकार्य गर्दैनौं।”
प्रचण्डले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको सम्झिँदै त्यहाँका जनतालाई विशेष धन्यवाद व्यक्त गरे। हालै सम्पन्न उपनिर्वाचनमा माओवादीका उम्मेदवार डा. शिव शरण महर्जन दोस्रो स्थानमा आउन सफल भए पनि विजयी नहुनु दुःखद भएको उनले बताए। “कीर्तिपुर नजितेसम्म न चित्त बुझ्छ, न मनमा शान्ति हुन्छ,” उनले भने।
सरकारमा रहँदा माओवादी केन्द्रले सुशासन र भ्रष्टाचारविरुद्ध काम गरेको दाबी गर्दै प्रचण्डले भने, “हामीले जनताको पक्षमा काम ग¥यौं, तर बिचौलियाहरूलाई त्यो मन परेन। त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।”
सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले देशव्यापी जनसम्पर्क अभियान थालेको जानकारी पनि उनले दिए। उनले तराईमा ‘हुलाकी मार्ग केन्द्रित अभियान’, पहाडमा ‘मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान’ सहित विभिन्न रणनीतिहरू अगाडि बढाइएको उल्लेख गरे। प्रचण्डका अनुसार, ‘हुलाकी अभियान’ अन्तर्गत तराईमा करिब ८–९ लाख जनताले माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन्।
कार्यक्रमको अन्त्यमा प्रचण्डले जनताले अब माओवादी केन्द्रलाई अन्य दलहरूभन्दा फरक र जनताको असली प्रतिनिधिको रूपमा चिन्न थालेको दाबी गरे। “अब जनताले बुझ्न थालेका छन्, माओवादी र कांग्रेस–एमाले एउटै होइनन्। माओवादी केन्द्र नै जनताको साँचो प्रतिनिधि हो,” उनले भने।