काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज (जेठ १८, आइतबार) देखाइँदैछ। भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
आज ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो प्रदर्शन गरिनेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भोटो जात्रा सुरु भएको यकिन तिथिमिति पत्ता नलागे पनि यसको परम्परासँग जोडिएको रोचक किंवदन्ती छ।
किंवदन्ती अनुसार: रातो मच्छेन्द्रनाथको यात्रा सुरु भएपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। वैद्यको खोजीमा लागेका कर्कोटकले खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक लगे। डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा निको भएपछि पुरस्कारस्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। यसैबीच, मनुष्यरूपी भूत आएर भोटो लग्यो। पछि मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा किसानले आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो र कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्त्यमा, भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।
त्यसै बेलादेखि आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकिएपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। जनविश्वास अनुसार, अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान सकेका छैनन्।