काठमाडौं । नेपाली कांग्रेसका नेताहरू शंकर भण्डारी र राजेन्द्र बजगाईंले पृथ्वीनारायण शाहका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै नेताद्वयले आपत्ति जनाएका हुन्।
उनीहरूले पार्टीले समर्थन दिएका प्रधानमन्त्रीको अभिव्यक्ति सह्य नभएको भन्दै वैकल्पिक गठबन्धनका लागि लाग्नुपर्ने बताएका छन्। नेता भण्डारीले बाह्रखरीसँग भने, “बौद्धिक वर्गसामु कांग्रेस समर्थित प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छैन।” उनले पार्टी सभापतिको प्रतिक्रियाको प्रतीक्षामा रहेको र यदि प्रतिक्रिया नआए मेरै अगुवाइमा केन्द्रीय समिति बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने चेतावनी दिए।
सांसद राजेन्द्र बजगाईंले पनि पृथ्वीनारायण शाह र कांग्रेसप्रतिका प्रधानमन्त्रीका अभिव्यक्ति आपत्तिजनक भएको बताए। उनले ओलीको रबैया कायम रहे वैकल्पिक गठबन्धनको गृहकार्यमा कांग्रेस जुट्ने समय आएको बताए। बजगाईंले भने, “यदि यो सत्य हो भने, म एक गोर्खाली र नेपाली कांग्रेसको प्रतिनिधिको हैसियतले भन्छु—हामीले एमालेसँगको गठबन्धन तत्काल तोडेर वैकल्पिक गठबन्धनमार्फत नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ।”
उनले सोही कार्यक्रममा कांग्रेसका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पनि अस्वीकार्य भएको बताए। बजगाईंले, “प्रधानमन्त्रीले हाम्रो पार्टीप्रति देखाएको गलत आशय र व्यक्त ‘झगडा आँगनमा नगर’ भन्ने हस्तक्षेप पनि हामीले सहन सक्दैनौँ,” भन्दै कांग्रेसमा विचारको फरक, बहस र असहमतिलाई सम्मान गरिने, दबाइँदैन भने।