काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपालमा हाल भइरहेका आन्दोलन तथा विरोधका कार्यक्रमहरूका सन्दर्भमा विदेशी सञ्चारमाध्यम र पत्रकारले अनुमति नलिई सामग्री संकलन तथा सम्प्रेषण गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै काउन्सिलले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सूचना तथा प्रसारण विभागबाट आवश्यक अनुमति (प्रेस प्रतिनिधि प्रमाणपत्र) नलिई सञ्चार गतिविधि गरिएको पाइएपछि गम्भीर चासो व्यक्त गरेको हो। काउन्सिलले संविधानविपरीत, अतिरन्जित र एकपक्षीय सामग्री सामाजिक सञ्जाल र केही विदेशी सञ्चारमाध्यममार्फत प्रसारण भइरहेको समेत उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको प्रचलित कानूनअनुसार अनुमति प्राप्त नगरी गरिएको कुनैपनि पत्रकारितासम्बन्धी गतिविधि गैरकानुनी एवं पेसागत आचरण विपरित हुनेछ।”
प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति आफू सदैव कटिबद्ध रहेको उल्लेख गर्दै विदेशी सञ्चारकर्मीलाई कानुनअनुसार मात्र सामग्री संकलन र सम्प्रेषण गर्न अपिल गरेको छ। साथै, नेपालको सार्वभौमिकता, राष्ट्रियता र सामाजिक सद्भावमा खलल पार्ने, वा अन्तर्राष्ट्रिय मित्रराष्ट्रसँगको सम्बन्धमा नकारात्मक असर पार्ने सामग्री सम्प्रेषण नगर्न चेतावनी दिएको छ।
प्रेस काउन्सिल नेपालले सम्बद्ध पक्षहरूलाई विधिसम्मत प्रक्रिया अपनाउन पुनः आग्रह गरेको छ।