वीरगन्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं.– १ रामभौरी नजिकको सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं.२ का ६१ वर्षीय श्याम बहादुर भुलन कुरीलो (जडीबुटी) संकलन गर्न गएका बेला हात्तीको आक्रमणमा परेका थिए। उनीसँगै गएका ६० बर्षीय भक्त बहादुर आले र ५१ बर्षीय श्रवण भुलन भने सकुशल बच्न सफल भएका छन्।
घटना जेठ ९ गते साँझ करिब ७ः१५ बजे भएको हो। जंगली हात्ती अचानक जंगलमा देखिएपछि तीनैजना भाग्ने प्रयास गरेका थिए । तर श्याम बहादुर हात्तीको आक्रमणमा परेर घटनास्थलमै ज्यान गुमाएको प्रहरी नायव उपरक्षक लम्सालले बताए ।
उक्त घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले जेठ १२ गते मात्रै जानकारी प्राप्त गरेपछि प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सोको टोली सहितको प्रहरी समूह घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले शव परीक्षण तथा प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।