कंकोरको मनोमानी अझै कायम, भारत सरकारको निर्देशन पनि टेरेन
वीरगन्ज, ११ फागुन । वैदेशिक व्यापारको पारवहन सेवामा भारतीय रेलवे सेवाका भगिनी संस्था कोंकोरको एकाधिकार समाप्त भएपनि मनोमानी अझै कायम नै रहेको छ । तेश्रो मुलुकसँगको व्यापारमा पारवहन सेवा दिदै आएको कोंकरले समुद्री बन्दरगाहबाट रेल सेवासँग मार्फत वीरगन्ज स्थित सुक्खा बन्दरगाहसम्म मालवाहक कण्टेनर ढुवानी गर्दै आएको छ ।
यसअघि सुक्खा बन्दरगाह व्यावस्थापनको समेत हिस्सेदारी बनेको कोंकरले सुक्खा बन्दरगाहमा प्रिन्सटाईन भ्यालीले ठेक्का पाएपछि एकाधिकार तोडिएको थियो । तर, अझैपनि उसको मनोमानीले गर्दा नेपाली आयातकर्ताहरुले समस्या भोग्दै आईरहेका छन् ।
यहि समस्या नेपाली आयाकर्ताहरु समाधान गर्न भारतीय पक्षलाई आग्रह गरेपछि भारत सरकारले मातहतका निकायलाई नेपालको कण्टेनर पठाउन सहजीकरण गर्न निर्देशन दिएको छ । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले भारतीय कन्टेनर निगम (कोन्कर), प्रिस्टाइन मेगा लजिस्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चरलाई गत हप्ता निर्देशन दिएको छ ।
नेपालका लागि ढुवानी हुने कार्गोका लागि आवश्यक रेल रेक उपलब्ध गराउन बोर्डले भनेको छ । लामो समयदेखि एकाधिकार जमाएको कोंकरले नेपाली आयातमा समस्या उत्पन्न गरेपछि विकल्प खोजेपछि नेपाल–भारत रेल सेवा सम्झौता संशोधनपछि कन्टेनर ढुवानीमा निजी कम्पनीको प्रवेश पाएको थियो । तर, अहिले निजी रेल कम्पनीहरुले ढुवानी सुरु गरेपनि पारवहन सेवा सहज हुन सकेको छैन ।
गएको असार १५ गते रेल सेवा सम्झौता संशोधन भएपछि भदौ ३० मा पहिलोपटक भारतीय निजी रेल प्रिन्स्टाई भ्यालीले वीरगञ्ज सुक्खा बन्दरगाह ल्याएको थियो । यसले कोंकरको एकाधिकार तोडिएको थियो । निजी रेल कम्पनीको प्रवेशसँगै कोन्करले भाडा र रेल रेक संख्यामा कटौती गरेपछि कण्टेनर ढुवानीमा समस्या भएको हो ।
भारत सरकारको लगानी रहेको कोन्कर पूर्वाधारमा निजी कम्पनीभन्दा निकै बलियो रहेको छ । उसले रेल भाडा ३० देखि ३५ प्रतिशतसम्म घटाएको थियो । त्यसपछि निजी कम्पनी पनि भाडा घटाउन बाध्य भए । तर, कोन्करले कण्टेनर लोड गरिने (-याक) संख्या पनि घटाइदिएपछि ढुवानी अस्तव्यस्त बनेको हो ।
तेस्रो मुलुकबाट आउने कन्टेनरमध्ये अहिले पनि ९० प्रतिशत ढुवानी कोन्करले नै गर्ने गरेको छ । अन्य प्रतिस्पर्धीहरुलाई नेपाली बजारबाट विस्थापित गर्नका लागि कोंकरले यस्तो षड्यन्त्र गरिरहेको प्रतिस्पर्धी कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । कोंकरले उत्पन्न गरेको समस्याले गर्दा नेपालको कण्टेनर ढुवानी हुन नसकेको नाम नछाप्ने शर्तमा पतिस्पर्धी कम्पनीका कोलकत्ता स्थित प्रतिनिधिले बताए ।
उनका अनुसार कोंकर नेपालमा ढुवानी सेवा दिने निजी कम्पनीहरुको विरुद्धमा लागेको छ । तिनीहरूले कम संख्यामा रेकहरू प्रयोग गरी ग्राहकहरूलाई दबाब दिने र निजी कम्पनीका अपरेटरहरूबाट जोगिनका लागि अभावको स्थिति सिर्जना गरेको ति प्रतिनिधिको दावी छ ।
अन्य धेरै निजी कम्पनीहरुले पनि नेपालको ढुवानी सेवामा प्रवेश गर्ने योजना बनाई रहेकोले छिट्टै समस्या समाधान हुने ती प्रतिनिधिको भनाई छ । रेक नपाएर डेढ/दुई महीना बन्दरगाहमै कन्टेनर रोकिने अवस्था आएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलगायत निकायमा वीरगन्ज उद्योग वाणिज्य संघले पत्राचार गरेपछि पनि कोंकरको नियोजित योजनाका कारणले नेपाली आयातकर्ताहरुले समस्या भोगी रहेका छन् ।
सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको नेपाल इन्टर मोडल यातायात समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार चालू आर्थिक बर्षको श्रावण महिनामा १० रेक, भदौमा १६, असोजमा ११, कार्तिकमा १०, मंसिरमा १७ र पुष ११ वटा रेक कण्टेनर लिएर नेपालको वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा आएको छ ।
ज्ञवालीका अनुसार अहिले ७ रेक कण्टेनर बाटोमा रहेको र कोलकत्तामा १० रेक र विशाखापटनममा २० रेक गरी झण्डै ३० रेक कण्टेनर भारत रोकिएको छ । कोरोना संक्रमणको महामारीको समयमा कोंकरले मालवाहक कण्टेनर सुक्खा बन्दरगाहमा ल्याएर अनलोड गर्दै खाली रेक लिएर गएपछि नेपालतर्फ पनि खाली कण्टेनरहरु थुप्रिएका छन् । नेपालतर्फ पनि झण्डै २ हजारको हाराहारीमा कोंकरले ल्याएको खाली कण्टेनर सुक्खा बन्दरगाह यार्डमा रहेको भन्सार अधिकृत बलराम भण्डारीले बताउनुभयो ।