वीरगञ्ज, २१ माघ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आफ्नो सङ्गठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाएको छ। यसक्रममा पार्टीले वीरगञ्जको पिपरामा निर्वाचन परिचालन कमिटी गठन गर्नुका साथै सबैठवामा ठुलो सङ्ख्यामा युवाहरूलाई पार्टीमा भित्र्याएको छ।
वीरगञ्जको पिपरा क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गर्नुअघि आयोजित भेलाले कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। कमिटी गठनसँगै पिपरा क्षेत्रमा रास्वपाको साङ्गठनिक उपस्थिति थप मजबुत बनेको पार्टीको दाबी छ।
वीरगञ्ज महानगरपालिका–२३, सबैठवामा रोशन यादव र रवि यादवको नेतृत्वमा सयौँ ‘जेन्जी’ (Gen-Z) युवाहरू रास्वपामा प्रवेश गरेका छन्। युवाहरूको यस प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले भदौ २३ र २४ मा भएको ‘जेन्जी विद्रोह’कै कारण मुलुक परिवर्तनको संघारमा पुगेको दाबी गरे। उनले युवाहरूको निरन्तर समर्थन र प्रवेशले पर्सामा रास्वपाको जित सुनिश्चित हुने समेत बताए।
कार्यक्रममा रास्वपाका विभिन्न तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित हुनेहरूमा सुदिश प्रजापति (जिल्ला सचिव), अमन आलम (महानगर सभापति), गौतम श्रेष्ठ (सचिव) र राम आर्य (क्षेत्रीय सभापति) रहेका थिए।
