बारा । बारामा एकै गाउँका तीनजनाको शंकास्पद मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–३ पचगछिया टोलमा सोमबार राति तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा ४५ वर्षीय गोपाल यादव, ५० वर्षीय ऐजाजुल मिया र २७ वर्षीय रामसुरथ यादव रहेको स्थानीयले जनाएको छ । तीनै जनाले आइतबार सोही टोलमा सञ्चालित एउटा मदिरा पसलबाट मदिरा सेवन गरेको स्थानीयको भनाई छ ।
मदिरा सेवन गरेका उनीहरुको सोमबार बेलुकी आठ बजेभित्रमा मृत्यु भएको वडाध्यक्ष राम क्षेत्री यादवले जानकारी दिए। स्थानीयका अनुसार पसल राम भरोस यादवले सञ्चालन गर्दै आएका थिए ।
यसअघि पनि बारा, विशेषगरी सिमावर्ती गाउँहरूमा अवैध रूपमा सञ्चालन भइरहेका भट्टीका कारण मानिसको ज्यान जाने घटना दोहोरिँदै आएको छ । बरियारपुर लगायतका क्षेत्रमा यसै प्रकारका घटनामा ज्यान गुमाइसकिएको उदाहरण स्थानीयले स्मरण गरेका छन् ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले औपचारिक जानकारी नआए पनि घटनाबारेमा आवश्यक अनुसन्धान अघि बढाइने बताए । सिमावर्ती क्षेत्रमा अवैध मदिरा भट्टी सहजै सञ्चालन भइरहेका छन् । प्रहरीको नियमन कमजोर भएको स्थानीयवासीको आरोप छ ।